सर्लाहीमा कारको ठक्करबाट एक जनाको मृत्यु


eShilalekh

३ मंसिर २०८२, बुधबार १४:१५

सर्लाहीः सर्लाहीमा मंगलबार राति कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बागमती नगरपालिका ४ प्रसाई टोलका ५० वर्षीय केशव शिवाकोटी रहेका छन् ।

बागमती नगरपालिका ११ रायमाझी चोक नजिक बालाचतुर्दशी मेला हेरेर घर फर्कने क्रममा नम्बर नखुलेको कारले शिवाकोटीलाई ठक्कर दिएको थियो ।

इलाका प्रहरी कार्यालय कर्मैयाका अनुसार ठक्करपछि उनि गम्भीर घाइते भएका थिए । गम्भीर घाईते भएका शिवाकोटीलाई उपचारका लागि वीरगञ्जस्थित न्यूरो अस्पताल पुर्याईएको थियो ।

उपचारका क्रममा बुधबार बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ । कारले पैदलयात्रीलाई ठक्कर दिएपछि भाग्ने क्रममा बागमती प्रदेश ०३–००१ ख ३४५५ नम्बरको यात्रुवाहक बसलाई समेत ठक्कर दिएको थियो ।

इलाका प्रहरी कार्यालय हरिवनका वरिष्ठ प्रहरी नायब निरीक्षक दीपेन्द्र मल्लका अनुसार दुर्घटनामा संलग्न कारको पहिचान भइसकेको र खोजी तीव्र रूपमा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्