वीरगन्जमा चोरीका सुनचाँदीका गरगहनासहित चार जना पक्राउ

वीरगन्जः वीरगन्जमा प्रहरीले चोरीका सुनचाँदीका गरगहनासहित चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत बिहार राज्यको बेतिया जिल्ला बल्थर थानाको सरकिला गाँउका ३३ वर्षीय विजय राय, सोहि ठाँउका ६० वर्षीय शेख बुनाद, बिहारको बेतिया जिल्ला आरापिपराका ३१ वर्षीय विनोद राउत र पर्साको वीरगन्ज महानगरपालिका ३२ टेढाका २० वर्षीय विद्याकुमार नट रहेका छन् ।
करिब ३७ लाख रुपैयाँ मूल्य बराबरको सुनचाँदीका गरगहनासहित उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
गत कात्तिक ३० गते वीरगन्ज महानगरपालिका ३२ मा प्रहरीले शंका लागेर विजय राय र शेख बुनाद सवार रहेका लु९६प ३७३३ नम्बरको स्कुटीलाई रोकेर जाँच गरेको थियो ।
जाँचका क्रममा शेख बुनादले लगाएको पाइन्टको दाँहिने खल्तीबाट सेतो रंगको रूमालमा सेतो रंगको कागजभित्र बिल बिजक नरहेको सुनका केहि गहना फेला परेको थियो । त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।
शेखले दिएको बयानका आधारमा प्रहरीले टेढाका नटको घरमा खानतलासी गर्दा घरभित्र लुकाएर राखिएका ३६ लाख ७० हजार ५१ रुपैयाँ मूल्य बराबरको सुनचाँदीका गहनाहरु भेटिएको पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।
नटको घरबाट सुनको सिक्री ११ थान, सुनको झुम्का दुई थान, सुनको नथिया तीन थान, सुनको पोतेसहितको माला दुई थान, सुनको लकेट एक थान, सुनको औंठी एक थान, सुनको माँगटीका दुई थान, चाँदीको पाउजु १० थान, चाँदीका सिक्का दुई थान, सुनको बिछिया आठ थान, चाँदीको हाथशंकर दुई थान तथा सुनचाँदी तौल गर्ने तराजु एक थान बरामद भएको बस्नेतले जानकारी दिए ।
यसैगरी नेपाली तीन लाख ७९ हजार रुपैयाँ र भारतीय ९ हजार दुई सय रुपैयाँसमेत बरामद भएको प्रहरीले जनाएको छ ।
बरामद गरिएका सुनचाँदीका गरगहनाहरु पर्सा र बाराका विभिन्न स्थानमा लागेका मेला, उत्सव र चाडबाडको भीडभाडबाट चोरी गरेको हुनसक्ने आशंका प्रहरीको छ ।
प्रहरी नायब उपरीक्षक बस्नेतका अनुसार बिलबिजकसहित गहनाधनीहरु प्रहरीमा आए छानबिन गरेर फिर्ता दिईनेछ ।
पक्राउ परेका चारै जनाविरुद्ध चोरी तथा डाँका सम्बन्धि कसूरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइ अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।






