सिमरा दिनभर अशान्त

सिमराः जेनजी युवा र राष्ट्रिय युवा संघका युवाबीचको विवाद उग्र बनेपछि बाराको सिमरा बुधबार दिनभर अशान्त बनेको छ । सिमरा चोकमा बिहानै दुई समूहबीचको भनाभन कुटपिटमा परिणत भएपछि सिमरा क्षेत्र दिनभर तनावग्रस्त बनेको हो ।
जेनजी आन्दोलनमा भएको दमनविरुद्ध विरोध प्रदर्शन गर्न सडकमा उत्रिएका जेनजी युवा र राष्ट्रिय युवा संघको कार्यक्रममा सहभागी हुन सिमरा विमानस्थल आउन लागेका नेकपा एमालेका नेताको स्वागतको तयारीमा रहेका युवा संघका कार्यकर्ताबीच विवाद भएको थियो । आफ्ना नेतालाई लक्षित गर्दै विरोध गर्न लागेको सूचना पाएपछि एमालेका स्थानीय नेता र युवा संघका युवाहरु जेनजी युवासंग संवाद गर्न गएका थिए ।
सो क्रममा दुई पक्षबीचको विवाद बढेपछि युवा संघका केही युवाले जेनजीका युवामाथि कुटपिट गरेका थिए । कुटपिटबाट जेनजीका केही युवाहरु घाइते भएका छन् ।
आफूहरुमाथि कुटपिट गर्नेलाई कारवाही गर्न माग गर्दै जेनजी युवाले त्यसपछि प्रदर्शन थालेका थिए । प्रदर्शनमा क्रममा उनिहरुले सिमरा विमानस्थल समेत घेराउ गर्दै तोडफोड गरेका थिए । हवाई मार्ग हुँदै सिमरा आउन लागेका एमाले महासचिव शंकर पोखरेल, नेता महेश बस्नेतलाई रोक्न पुगेका जेनजी युवाहरुले विमानस्थलको प्रवेशद्धार समेत भत्काएका थिए ।
सो क्रममा विमानस्थल भित्र रहेका सवारी साधनमा समेत क्षति पुगेको छ । विमानस्थलमा तोडफोड गर्न थालेपछि प्रहरीले अश्रुग्यास र लाठी प्रहार गरेको थियो । तोडफोडलगत्तै विमानस्थल बन्द गरिएको थियो । जसका कारण सिमरा आउन लागेका महासचिव पोखरेलसहितका एमालेका नेताहरु काठमाडौंमा रोकिएका थिए ।
एमालेका नेताहरु रोक्न विमानस्थल पुगेका जेनजी युवाले त्यसपछि पथलैया–वीरगन्ज सडकखण्डको सिमरा चोक अवरुद्ध पारेका थिए । उनिहरुले पाँच घण्टा सडक अवरुद्ध पारे । उनीहरुले एमालेका नेताहरुको स्वागतका लागि राखिएको ब्यानर समेत च्यातेका थिए ।
प्रदर्शनका कारण स्थिति तनावपूर्ण बनेपछि जिल्ला प्रशासन कार्यालयले १२ः३० बजेदेखि राति ८ बजेसम्म कर्फ्यु लगाएको थियो । कर्फ्युकाबीच पनि युवाहरुले दिनभर प्रदर्शन गरेका थिए । दिउँसो करिब १ बजेबाट बन्द गरिएको राजमार्ग साँझ ६ बजे खुलेको थियो ।
कुटपिट गर्नेविरुद्ध किटानी जाहेरी दर्ता गरेपछि जेनजी युवाले राजमार्ग छोडेका थिए । बाराका प्रहरी उपरीक्षक सन्तोष तामाङले कुटपिटमा संलग्न व्यक्तिहरुलाई कारवाही गर्न माग गर्दै जाहेरी परेको जानकारी दिए ।





