सिमरामा जेनजी युवा र प्रहरीबीच झडप


eShilalekh

४ मंसिर २०८२, बिहीबार १४:००

सिमराः सिमरामा जेनजी युवा र प्रहरीबीच बिहीबार दिउँसो झडप भएको छ । आफूहरुमाथि कुटपिट गर्नेहरुलाई पक्राउ गर्न माग राख्दै राजमार्ग अवरुद्ध गर्दै प्रदर्शनमा उत्रिएका जेनजी युवा र प्रहरीबीच झडप भएको हो ।

राजमार्ग खुलाउन पुगेको प्रहरी र जेनजी युवाबीचको झडपपछि सिमराको स्थिति तनावपूर्ण छ । प्रहरीलाई युवाहरुले सिमरा चोकबाट लेखेटेका छन् । प्रहरीलाई लखेटेका युवा अहिले सिमरा चोकमा बसेर प्रदर्शन गरिरहेका छन् ।

झडपका क्रममा जेनजी युवा र प्रहरी घाइते भएका छन् । घाइते युवाको स्थानीय अस्पतालमा उपचार भईरहेको छ ।

सिमरा चोकमा बुधबार आफूहरुमाथि भएको कुटपिटमा संलग्न व्यक्तिहरुलाई कारवाही गर्न माग गर्दै जेनजी युवाले ११ बजेदेखि प्रदर्शन थालेका थिए ।

प्रहरीले उक्त घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ र वडा नं. ६ का वडाध्यक्ष कैमुदिन अंसारी रहेका छन् ।

जेनजी युवामाथी बुधबार राष्ट्रिय युवा संघ नेपाल र नेकपा एमालेका कार्यकर्ताले कुटपिट गरेका थिए । कुटपिटपछि जेनजी युवाले सात जनाविरुद्ध किटानी जाहेरी समेत दिएका थिए । जाहेरीका आधारमा प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो ।

जेनजी युवा भने जाहेरी दिएका सबै व्यक्तिलाई पक्राउ गर्न माग गरिरहेका छन् । उनिहरु पक्राउ नपरेसम्म आन्दोलन नरोकिने जेनजी बाराका संयोजक सम्राट उपाध्यायले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्