निजगढका युवक बर्दिबासमा ट्रामाडोलसहित पक्राउ

सिमरा: महोत्तरीको बर्दिबास नगरपालिका क्षेत्रबाट शुक्रबार साँझ प्रहरीले ठूलो मात्रामा प्रतिबन्धित लागूऔषध ट्रामाडोलसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बाराको निजगढ नगरपालिका ७, योजना टोलका २७ वर्षीय मुकेश दर्लामी रहेका छन्। उनलाई महेन्द्र राजमार्गको भब्सी पुल नजिकैबाट ट्रामाडोलसहित पक्राउ गरिएको प्रहरीले जनाएको हो।
ईलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी सहायक निरीक्षक कुलराम चौधरी तथा लागूऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय बर्दिबासका प्रहरी नायब निरीक्षक सरोज कुमार अधिकारीको नेतृत्वमा खटिएको टोलीले शंकास्पद देखिएका दर्लामीलाई रोकेर जाँच गरेको थियो।
जाँचका क्रममा उनी बोकेको झोलामा कालो प्लास्टिकभित्र लुकाइछिपाइ राखिएको ३०० पत्ता (३,००० पिस) ट्रामाडोल फेला परेको प्रहरीले जनाएको छ।
बरामद लागूऔषधसहित पक्राउ परेका उनलाई आवश्यक कानुनी कारबाहीका लागि ईलाका प्रहरी कार्यालय बर्दिबासमा बुझाइएको छ।





