सिमरा खानेपानीमा चरा अघिअघि, गुलाबको फुल पछिपछि


eShilalekh

७ मंसिर २०८२, आईतवार १५:३२

सिमराः सिमरा खानेपानी उपभोक्ता तथा सरसफाई समितिको नयाँ नेतृत्व चयनका लागि भएको मतदानको अहिले मतगणना भईरहेको छ ।

समितिको कार्यालयमा जारी मतगणनाको पछिल्लो परिणाममा ‘चरा’ चिन्हका उम्मेदवार अघि देखिएका छन् ‘गुलाबको फुल’ चिन्हका उम्मेदवार पछ्याईरहेका छन् । तेस्रो स्थानमा ‘चश्मा’ चिन्हका उम्मेदवार छन् भने चौथो र पाँचौंमा अन्य प्यानलका उम्मेदवार छन् ।

निर्वाचन अधिकृत सुनिल गाउँलेका अनुसार दिउँसो १२ः१५ बजेसम्मको मतपरिणाममा युवराज न्यौपानेले नेतृत्व गरेको ‘चरा’ चुनाव चिन्हको प्यानल अग्रस्थानमा छ । अध्यक्ष पदमा न्यौपाने अर्का अध्यक्षका उम्मेदवार ‘गुलाबको फुल’ चुनाव चिन्हका प्रकाश खुलाल एक मतले अघि छन् ।

एक हजार एक सय तीन मत गणना हुँदा न्यौपानेले तीन सय ५० मत र खुलालले तीन सय ४९ मत पाएका छन् । अध्यक्षबाहेक अन्य पदमा भने ‘चरा’ चिन्हका उम्मेदवार र ‘गुलाबको फुल चिन्ह’का उम्मेदवारको मतान्तर फराकिलो छ ।

यता ‘चश्मा’ चिन्हका उम्मेदवार भने अहिलेसम्म प्रतिस्पर्धामा देखिएका छैनन् । ‘चश्मा’ चिन्हका उम्मेदवार पूर्णचन्द्र तिमिल्सिनाले एक सय ९९ मत पाएका छन् । ‘खुल्ला किताब’ चुनाव चिन्हका अध्यक्ष उम्मेदवार राजकुमार भट्टराईले ७५ र ‘घर’ चुनाव चिन्हका शशी गौतमले ६४ मत पाएका छन् ।

पछिल्लो मतपरिणामले ‘चरा’ र ‘गुलाबको फुल’बीच प्रतिस्पर्धा हुने देखिएको छ । ‘चश्मा’ चुनाव चिन्ह भने फराकिलो मतान्तरसहित पछ्याईरहेको अवस्था छ ।

निर्वाचनमा तीन हजार तीन सय २० मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्