सिमरा पार्कमा मृत भेटिए तीन वटा हरिण, चितुवाले आक्रमण गरेको आशंका

सिमरा: पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै आएको जीतपुरसिमरा १ स्थित सिमरा पार्कमा बुधबार बिहान तीन वटा हरिण मृत अवस्थामा फेला परेका छन् । पार्कको तारघेराभित्र पालिएका ६ वटा हरिणमध्ये तीन वटा मृत भेटिएको हो ।
पार्कका कर्मचारीले बिहान हरिण मृत अवस्थामा देखेपछि डिभिजन वन कार्यालय र इलाका प्रहरी कार्यालय सिमरालाई खबर गरेका थिए। हरिणका तिघ्राको मासु लुछिएको अवस्थामा भेटिएपछि वन्यजन्तुको आक्रमण भएको प्रारम्भिक अनुमान गरिएको छ।
थानीमाई वन उपभोक्ता समूहका कोषाध्यक्ष श्याम सुवेदीका अनुसार चितुवा वा बाघले तारघेरा नाघेर हरिणलाई मारेको हुन सक्ने देखिन्छ। ‘केहीले चितुवा भनेका छन्, केहीले बाघ भनिरहेका छन् । ‘कुन जनावरले आक्रमण गर्यो भन्ने खुल्न बाँकी छ’ सुवेदीले भने ‘तर तीन वटा हरिणलाई आक्रमण गरेर मारेको पुष्टि भएको छ। बाँकी तीन वटा तारघेरा नाघेर भाग्न सफल भएका रहेछन् ।’
भागेका हरिण पार्क पार्क परिसरमै छन् । तिनलाई सुरक्षित राख्ने चुनौती बढेको सुवेदीको भनाइ छ । भागेर जोगिएका तीन वटा हरिण जोगाउन समूहले उपाय खोजिरहेको सुवेदीले बताए ।
घटनापछि डिभिजन वन कार्यालय र ईलाका प्रहरी कार्यालय सिमराको टोली पुगेर घटना मुचुल्का गरी मारिएका हरिणलाई खाल्डो खनेर पुरिएको सुवेदीले बताए ।
सिमरा पार्कमा केही समयअगाडि पनि चितुवा देखिएको थियो। तर ठूलो तारघेरा नाघेर वन्यजन्तुले आक्रमण गर्न सक्ने कल्पना समूहका पदाधिकारीले गरेका थिएनन् । हालको घटनाले पार्कमा घुम्न आउने पर्यटकको सुरक्षासम्बन्धी चिन्ता पनि थपिएको छ ।
पछिल्लो समय आन्तरिक पर्यटनका लागि आकर्षण बन्दै गएको सिमरा पार्क पिकनिक तथा विभिन्न कार्यक्रमका लागि पनि लोकप्रिय स्थल हो ।





