चन्द्रनिगाहपुरमा अबरुद्ध भएको पूर्वपश्चिम राजमार्ग सूचारु

सिमराः रौतहटको चन्द्रनिगाहपुरमा शनिबार दिउँसोदेखि अबरुद्ध भएको पूर्वपश्चिम राजमार्ग सञ्चालनमा आएको छ। मोथियाही पुल नजिक शुक्रबार भएको सडक दुर्घटनामा मृत्यु भएकाको परिवारले क्षतिपूर्तिका माग राख्दै राजमार्ग अवरुद्ध गरेपछि यातायात ठप्प भएको थियो ।
गौरबाट चन्द्रनिगाहपुरतर्फ आउँदै गरेको ना ४ ख ६५४७ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ना ३९ प ४२४० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा बृन्दावन नगरपालिका २ बिश्रामपुरका ४० वर्षीय नागेन्द्र पटेलको मृत्यु भएको थियो। बस मालिकले कानुनबमोजिमको भन्दा बढी क्षतिपूर्ति दिन अस्वीकार गरेपछि मृतकका आफन्तले शनिबार चन्द्रनिगाहपुरमा आएर राजमार्ग बन्द गरेका थिए।
बृन्दावन नगरपालिकाका पूर्व नगरप्रमुख रामस्नेही रायका अनुसार पीडित परिवार आर्थिक रूपमा कमजोर भएकाले केही रकम थप्न आग्रह गरिएको थियो। यसैबीच बसका चालक अमृतबहादुर विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी नायब उपरीक्षक रुपा लाबुङले राजमार्ग सञ्चालनमा आएको जानकारी दिएकी छन्।
दुर्घटनाग्रस्त मोटरसाइकलमा मृतक पटेलसहित उनका तीन सन्तान सवार थिए। दुर्घटनामा १२ वर्षीय छोरा युवराज पटेलको निधारमा, ११ वर्षीया छोरी आकृति पटेलको खुट्टा र टाउकोमा तथा १५ वर्षीय छोरा प्रिन्सकुमार पटेलको खुट्टा, हात र निधारमा चोट लागेको प्रहरीले जनाएको छ।





