एमालेको ११औं महाधिवेशनमा व्यापक सहभागिता जनाउने किसान महासंघको निर्णय

सिमराः अखिल नेपाल किसान महासंघ मधेश प्रदेश कमिटीको विस्तारित बैठक सर्लाहीको हरिवन नगरपालिका ११ स्थित सगुन सहकारीको सभाहलमा शनिबार सम्पन्न भएको छ। बैठकले नेकपा (एमाले) को आसन्न ११औं राष्ट्रिय महाधिवेशनमा व्यापक सहभागिता जनाउने निर्णय गरेको छ ।
मंसिर २७ गते भक्तपुरको सल्लाघारीमा हुन लागेको खुलासभामा मधेश प्रदेशका आठ वटै जिल्लाबाट किसानहरूको पहिचानसहित झण्डा र ब्यानरसहित व्यापक सहभागिता सुनिश्चित गर्न बैठकले महत्त्वपूर्ण निर्णय गरेको महासंघका केन्द्रीय सचिव उमेश गुप्ताले जानकारी दिए ।
मधेश प्रदेश कमिटीका अध्यक्ष निरञ्जन चौधरीको अध्यक्षतामा सम्पन्न बैठकमा केन्द्रीय उपाध्यक्ष राजकुमार उप्रेती, केन्द्रीय सचिव गुप्ता, नेकपा (एमाले) सर्लाहीका उपाध्यक्ष बिदुर प्याकुरेल, स्थायी कमिटी सदस्य भोला यादव, प्रकाश थापा र रुपनारायण दासलगायत सहभागी थिए।
बैठकले आगामी संघसंगठन सुदृढीकरण, किसानको हकहितका मुद्दा, गाउँटोलस्तरमा संरचना विस्तार तथा महाधिवेशनसँग सम्बन्धित कार्यक्रम सञ्चालनका लागि कार्ययोजना तयार पारेको छ।
सहभागीहरूले मधेश प्रदेशका किसानहरूको बढ्दो समस्यालाई संस्थागत रूपमा उठाउने, पार्टीका संगठनसंग समन्वय गरी आन्दोलन र कार्यक्रमलाई प्रभावकारी बनाउने तथा आगामी खुला सभालाई ऐतिहासिक बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्।





