रौतहटको चन्द्रनिगाहपुरमा ट्रक र कार ठोकिँदा एक वृद्धको मृत्यु, दुई घाइते


eShilalekh

२६ मंसिर २०८२, शुक्रबार १२:१२

रौतहट: पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा शुक्रबार बिहान ट्रक र कार एकआपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्।

चन्द्रपुर नगरपालिका ४ स्थित पहिलो लचकामा बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा३च ६१९३ नम्बरको कार आपसमा ठोक्किएको हो । दुर्घटनामा बाराको निजगढ नगरपालिका ३ सिगौलका ७९ वर्षीय भक्तबहादुर खत्रीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

कार निजगढबाट चन्द्रनिगाहपुरतर्फ गईरहेको थियो। दुर्घटनामा कार चालक दिनेश थपलिया र चन्द्रपुर–६ का डोरमणी सापकोटा घाइते भएका छन्। उनीहरूको चन्द्रनिगाहपुरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ।

ट्रकका चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका ७ का ५३ वर्षीय श्यामबहादुर तितुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्