सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणको लागूऔषध गाँजा बरामद

सिमराः सशस्त्र प्रहरी बल नेपालले बिहीबार राति भारततर्फ तस्करी हुँदै गरेको ठूलो परिमाणको प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको छ।
प्रहरीले पर्साको ठोरी गाउँपालिका–४ स्थित निर्मलबस्ती नजिकैबाट ९१ किलो गाँजा बरामद गरेको हो।
सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म सुवर्णपुरबाट सीमावर्ती क्षेत्रमा खटिएको टोलीलाई देख्नेबित्तिकै करिब १० जना व्यक्तिहरूले नाम्लोमा बाँधेर ढाडमा बोकेका १० वटा प्लास्टिकका पोका फालेर जंगलतर्फ भागेको प्रहरीको भनाइ छ।
सशस्त्र प्रहरीले उक्त पोका नियन्त्रणमा लिएर जाँच गर्दा प्रतिबन्धित लागूऔषध गाँजा फेला परेको हो।
बरामद गरिएको गाँजाको कुल तौल ९१ किलो रहेको र आवश्यक कानुनी प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालय ठोरीमा बुझाइएकाे सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण मुख्यालय पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वराज योञ्जनले जानकारी दिएका छन्।





