मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका राम अशिष यादव निर्वाचित


eShilalekh

६ पुष २०८२, आईतवार १८:०२

जनकपुरधाम: मधेश प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी नेपाल (जसपा) का सांसद राम अशिष यादव निर्वाचित भएका छन्। मधेश प्रदेशसभा कार्य सञ्चालन नियमावली ७ बमोजिम आइतबार सम्पन्न निर्वाचनमा यादवले स्पष्ट बहुमत प्राप्त गर्दै सभामुखमा चयन भएका हुन्।

मतदान परिणामअनुसार यादवको पक्षमा ७२ मत र विपक्षी उम्मेदवार त्रिलोकी प्रसाद चौधरीको पक्षमा २४ मत परेको थियो।सत्ता साझेदार दलहरू नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले यादवलाई समर्थन गरेका थिए। यादव धनुषा क्षेत्र नं. २ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन्।

विपक्षी दल नेकपा एमालेका तर्फबाट त्रिलोकी प्रसाद चौधरी सभामुखका उम्मेदवार थिए। उनलाई एमालेसहित राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका सांसदले मतदान गरेका थिए।

पहिलो प्रस्तावमै बहुमत पुगेपछि दोस्रो प्रस्तावमाथि छलफल र मतदान गर्नुपरेन। यसअघि निवर्तमान सभामुख रामचन्द्र मण्डललाई पदअनुकूल आचरण नगरेको आरोपमा प्रदेशसभाको दुई तिहाइ बहुमतले पदमुक्त गरेपछि सभामुख पद रिक्त रहेको थियो।

१०७ सदस्यीय मधेश प्रदेशसभामा एमालेका २५, नेपाली कांग्रेसका २२, जसपा नेपालका १९, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९, लोकतान्त्रिक समाजवादी पार्टीका ९, नेकपा एकीकृत समाजवादी पार्टीका ७ तथा नागरिक उन्मुक्ति पार्टी, नेपाल संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका १–१ सांसद छन्। हाल एमाले, जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीका १–१ सांसद निलम्बित अवस्थामा छन्।

प्रतिक्रिया दिनुहोस्