लोटस फाइन डाइनिङ: खुला आकाशमुनि स्वाद, संगीत र सिकाइको उत्सव


eShilalekh

१५ पुष २०८२, मंगलवार १६:११

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका २ स्थित लोटस एकेडेमी परिसर पुस १२ गतेको साँझ असाध्यै फरक देखिन्थ्यो। सामान्य दिनमा शैक्षिक गतिविधिले भरिने परिसर उक्त साँझ भने एक सुविधासम्पन्न होटलको आँगनजस्तै रूपान्तरण भएको थियो।

खुला आकाशमुनि झिलिमिली बत्तीहरूले सजिएको परिसर, क्यान्डल लाइटको मधुरो उज्यालो, सुसज्जित टेबल, कुर्सी र व्यवस्थित आतिथ्यताले चिसो मौसम र शितलहरको समयमा पनि उपस्थित सबैलाई न्यानो अनुभूति दिइरहेको थियो। चिसो भगाउन कार्यक्रम स्थल वरपर ड्रममा बालिएको आगोले वातावरणलाई अझै जीवन्त बनाइरहेको थियो। आगोको ताप, संगीतको मिठास र मानिसहरूको मुस्कानले त्यो साँझलाई सम्झनलायक बनायो ।

छेउमै सुसज्जित मञ्च थियो, जहाँ लाइभ म्युजिकले निरन्तर माहोल तताइरहेको थियो। गायक सुशिल पौडेलको सुन्दर आवाजमा नेपाली र अंग्रेजी गीतहरू गुञ्जिरहेका थिए। कहिले भावुक, कहिले उत्साहपूर्ण गीतहरूले सहभागीहरूको मन जितिरहेको थियो।

कार्यक्रमको नाम थियो ‘लोटस फाइन डाइनिङ’ । नामले नै संकेत गरेझैँ यो केवल खानपानको कार्यक्रम मात्र थिएन । यो एक अवधारणा, अभ्यास र सन्देश थियो। लोटस एकेडेमीमा होटल म्यानेजमेन्ट अध्ययनरत विद्यार्थीहरूले आयोजना गरेको यो पहिलो प्रयास थियो। कक्षा कोठामा सिकेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्ने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रमले शिक्षालाई कागजको प्रमाणपत्रमा सीमित नराख्ने साहसी प्रयासको प्रतिनिधित्व पनि थियो ।

सिक्दै गरेका विद्यार्थी भएपनि उनीहरूको काम गर्ने शैली, पाहुनासंगको व्यवहार, तालमेल र अनुशासन अत्यन्तै ‘प्रोफेशनल’ देखिन्थ्यो। स्वागतद्धारदेखि टेबलसम्मको न्यानो आतिथ्यता, अर्डर लिने तरिका, खाना पस्किने शैली र विदाइसम्मको क्षणमा कुनै कमी देखिएन । हरेक चरणमा उनीहरूको आत्मविश्वास झल्किन्थ्यो। धेरै सहभागीले विद्यार्थीहरूले आयोजना गरेको कार्यक्रम भन्ने कुरा विश्वास गर्नै गाह्रो भएको प्रतिक्रिया दिईरहेका थिए । यही नै कार्यक्रमको सबैभन्दा ठूलो उपलब्धि थियो।

सिमराका लागि यो कार्यक्रम नयाँ थियो। होटल व्यवसाय र शिक्षा क्षेत्रमै पनि यस्तो अभ्यास कमै देखिन्छ। सामान्यतया होटल म्यानेजमेन्टको पढाइ सर्टिफिकेट र कक्षा कोठामा सीमित हुने गरेको सन्दर्भमा ‘लोटस फाइन डाइनिङ’ ले त्यो परम्परालाई चुनौती दियो। विद्यार्थीहरूले आफैँ योजना बनाए, व्यवस्थापन गरे, सेवा दिए र सम्पूर्ण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरे।

कार्यक्रममा सहभागी हुन एक हजार आठ सय रुपैयाँ शुल्क तोकिएको थियो। टिकट काटेर आएका र विशेष अतिथिका रूपमा सहभागी भएका गरी जम्मा करिब एक सय जनाको उपस्थिति थियो। संख्या सीमित भए पनि कार्यक्रमको स्तर उच्च थियो। विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिताले कार्यक्रमलाई अझै अर्थपूर्ण बनाएको थियो। प्रायोजकहरूको सक्रिय सहभागिताले पनि विद्यार्थीहरूको हौसला बढाएको थियो।

शान्त, सुरक्षित र उल्लासपूर्ण वातावरणमा कार्यक्रम करिब पाँच घण्टासम्म सञ्चालन भयो। समय बितेको पत्तै नपाइने गरी सहभागीहरू कार्यक्रम लयमा बगिरहेको थिए। खानाको स्वाद, संगीतको मिठास र सेवा शैलीले सबैलाई सन्तुष्ट बनाएको देखिन्थ्यो।

कार्यक्रमभर होटल म्यानेजमेन्टका शिक्षक विवेक उप्रेति निकै उत्साहित देखिन्थे। आफ्ना विद्यार्थीहरूको मेहनत र सफल प्रस्तुति देखेर उनी गर्वले भरिएका थिए। ‘विद्यार्थीले सिकेको ज्ञान व्यवहारमा उतार्दा मात्र वास्तविक सिकाइ हुन्छ’ उनी भन्दै थिए। यो कार्यक्रम विद्यार्थीहरूको आत्मविश्वास बढाउने मात्र होइन, उनीहरूलाई भविष्यको पेशागत जीवनका लागि तयार पार्ने अभ्यास भएको उप्रेतीको भनाई थियो ।

लोटस एकेडेमीका प्रिन्सिपल रामप्रसाद अधिकारी कार्यक्रमभर सक्रिय देखिन्थे। उनी सहभागी अतिथिहरूलाई समय दिँदै, कुराकानी गर्दै र प्रतिक्रिया लिँदै थिए। अतिथिसँग साक्षात्कार गरिरहँदा उनको अनुहारमा सन्तोष र खुशी स्पष्ट देखिन्थ्यो। ‘हाम्रो लक्ष्य विद्यार्थीलाई केवल परीक्षा पास गराउने होइन, समाजमा सक्षम र आत्मनिर्भर बनाउने हो’ उनले भनिरहेका थिए । कार्यक्रमले त्यसैको उदाहरण प्रस्तुत गरेको उनको भनाइ थियो।

कार्यक्रममा इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीको उपस्थिति विशेष आकर्षणको विषय बन्यो। उनले कार्यक्रमको खुलेर प्रशंसा गरे। प्रहरी संगठनमा सेवा प्रवेश गरेको १८ वर्ष पूरा भएको दिनमै यस्तो रचनात्मक कार्यक्रममा सहभागी हुन पाउँदा आफूलाई खुसी लागेको उनले बताए। जोशीलाई सहभागीहरूले तालि बजाएर सम्मान गरेका थिए ।

लोटस एकेडेमीका शिक्षक सुभाष अधिकारीले यस्तो कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। ‘यो सुरुवात मात्र हो। विद्यार्थीलाई व्यवहारिक रूपमा सक्षम बनाउने यस्ता कार्यक्रमहरू आगामी दिनमा अझै प्रभावकारी रूपमा अघि बढाइनेछ’ उनले भने।

‘लोटस फाइन डाइनिङ’ एउटा साँझको कार्यक्रम मात्र थिएन, यो शिक्षामा आएको सकारात्मक परिवर्तनको संकेत थियो। खुला आकाशमुनि, झिलिमिली बत्ती, आगोको ताप, संगीतको मिठास र विद्यार्थीहरूको मेहनतले बनेको त्यो वातावरणले सहभागी सबैको मन छोएको थियो । सिमराको शान्त साँझमा आयोजित यो कार्यक्रमले शिक्षा व्यवहारिक, जीवन्त र समाजसंग जोडिनुपर्छ भन्ने सन्देश दिएको थियो। लोटस एकेडेमीका विद्यार्थीहरूको यो पहिलो प्रयासले भविष्यमा अझै नयाँ सम्भावनाहरूको ढोका खोलिदिएको व्यवस्थापक विवेक साहले बताए ।

प्रतिक्रिया दिनुहोस्