मधेश प्रदेशसहित देशभर असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना


eShilalekh

७ आश्विन २०८३, बुधबार १६:०३

सिमराः मौसम विज्ञान विभागले आगामी असोज ९ गतेदेखि असोज ११ गतेसम्म मधेश प्रदेशसहित देशका विभिन्न स्थानहरूमा हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

मौसमी प्रणालीको असर पर्ने भएकाले मधेश प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको जोखिम रहेको विभागले जनाएको हो ।

मधेशसँगै कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा देशका अन्य अधिकांश भूभागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार उत्तर अन्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यून चापीय क्षेत्र हाल बंगालको खाडीको मध्य भूभाग आसपास रहेको र उक्त प्रणाली थप शक्तिशाली बन्दै बलियो न्यून चापीय क्षेत्र भई पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने देखिएको छ ।

यसैको प्रभावले गर्दा बुधबारदेखि नै मधेश प्रदेश नजिकका कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मध्यम वर्षा सुरु हुने जनाइएको छ । वर्षाका कारण विशेष गरी मधेश प्रदेशका सहरी तथा तराई क्षेत्रमा डुबानको उच्च जोखिम रहने तथा देशभर बाढी, पहिरो र गेग्रान बहाव आउन सक्ने भएकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्वतयारी गर्न र आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

प्राधिकरणले डुबान र बाढीको सम्भावनालाई मध्यनजर गर्दै यस अवधिमा अत्यन्त जरुरी नभई टाढा र रातिको समयमा यात्रा नगर्न सर्वसाधारणलाई विशेष आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्