धनुषामा मस्जिद तोडफोडको विरोधमा वीरगन्जमा प्रदर्शन, अश्रुग्यास प्रहार

वीरगन्ज: धनुषामा मस्जिद तोडफोड र पवित्र ग्रन्थ कुरान जलाइएको घटनाको विरोधमा वीरगन्जमा आइतबार बिहानदेखि मुस्लिम समुदायले प्रदर्शन गरेका छन्।
धनुषा जिल्लाको धनुकमला नगरपालिका ६ सखुवा मरानस्थित मुस्लिम टोलमा रहेको मस्जिदमा शनिबार अज्ञात समूहले तोडफोड गर्नुका साथै मुस्लिम धर्मावलम्बीको पवित्र ग्रन्थ कुरान जलाएको घटना सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो। सो घटनाको विरोधस्वरूप वीरगन्जमा प्रदर्शन सुरु भएको हो।
प्रदर्शनकारीहरूले वीरगन्जको घण्टाघर, मुर्ली, छपकैयास्थित इदगाह चोक लगायतका स्थानमा सडकमै टायर बाल्दै नाराबाजी गरेका छन्। प्रदर्शनका कारण ती क्षेत्रको यातायात प्रभावित भएको छ।
प्रदर्शन उग्र बन्दै गएपछि छपकैयाको इदगाह चोकमा प्रदर्शनकारी र प्रहरीबीच सामान्य झडपसमेत भएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले पाँच राउण्ड अश्रुग्यास प्रहार गरेको प्रहरीले जनाएको छ।
झडपका क्रममा एक जना प्रहरी सामान्य घाइते भएका छन्। घटनापछि सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ भने अवस्था नियन्त्रणमा ल्याउने प्रयास जारी रहेको प्रहरीले जानकारी दिएको छ।





