प्रतिनिधिसभा निर्वाचनका लागि एक लाख ४९ हजारभन्दा बढी निर्वाचन प्रहरी भर्ना हुने


eShilalekh

२० पुष २०८२, आईतवार १४:१३

सिमराः फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) ले ठूलो संख्यामा निर्वाचन प्रहरी (म्यादी प्रहरी) भर्ना गर्ने भएका छन्। अर्थ मन्त्रालयले बजेट सुनिश्चितता दिएसँगै भर्ना प्रक्रिया अघि बढाउने तयारी गरिएको हो।

नेपाल प्रहरीले एक लाख ३३ हजार नौ सय ८० जना निर्वाचन प्रहरी भर्ना गर्न अनुमति पाएको छ। नेपाल प्रहरीले कुल एक लाख ३७ हजार ६ सय ४४ जनाको माग गरे पनि गृह मन्त्रालयले केही घटाएर अनुमति दिएको हो। यस्तै एपीएफले १५ हजार एक सय १० जना निर्वाचन प्रहरी भर्ना गर्नेछ । एपीएफले १६ हजार जनाको माग गरेको थियो। दुवै मिलाएर एक लाख ४९ हजार नब्बे जना निर्वाचन प्रहरी भर्ना हुनेछन् ।

गृह मन्त्रालयका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको भर्ना प्रक्रिया संयुक्त रूपमा अघि बढाइनेछ। दुवै निकायअन्तर्गत खटिने म्यादी प्रहरीको पोसाक फरक-फरक हुनेछ। सशस्त्र प्रहरी बलका निर्वाचन प्रहरी मतदान सुरक्षाको दोस्रो घेरामा खटाइनेछन्।

यसअघि ०६४ सालको निर्वाचनमा पनि सशस्त्र प्रहरी बलले निर्वाचन प्रहरी भर्ना गरेको थियो। यसपटक दोस्रोपटक सशस्त्र प्रहरीले म्यादी प्रहरी भर्ना गर्न लागेको हो। गस्ती र पेट्रोलिङका लागि जनशक्ति अपुग हुने भएपछि सशस्त्र प्रहरीले थप जनशक्ति भर्ना गर्न लागेको जनाएको छ।

निर्वाचन प्रहरीलाई प्रहरीका जवान सरह सेवासुविधा दिइनेछ। उनीहरूले बिमा, पोसाक तथा रासन भत्ता पाउनेछन्। भर्नामा पूर्व सुरक्षाकर्मी र यसअघिका निर्वाचनमा खटिएका म्यादी प्रहरीलाई विशेष प्राथमिकता दिइनेछ।

निर्वाचन आयोगका अनुसार आगामी निर्वाचनमा देशभर १० हजार ९६७ मतदानस्थल रहनेछन् । जुन अघिल्लो निर्वाचनभन्दा एक ६८ वटा बढी हो। तीमध्ये करिब तीन हजार पाँच सय मतदानस्थललाई सुरक्षाका हिसाबले अति संवेदनशील मानिएको छ। मतदानस्थल संख्या र सुरक्षा संवेदनशीलता बढेकाले यसपटक करिब ३५ हजार जना निर्वाचन प्रहरी थप गर्न लागिएको हो।

यसअघि २०७९ को निर्वाचनमा एक लाख १५ हजार म्यादी प्रहरी माग गरिएको थियो। मतदानस्थल विस्तारसँगै यसपटक निर्वाचन सुरक्षाका लागि जनशक्ति पनि बढाइएको हो।

प्रतिक्रिया दिनुहोस्