बारामा मतदान केन्द्रको संख्या बढाइयो

सिमराः बारामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गर्दै मतदान केन्द्रको संख्या बढाइएको छ । जिल्ला निर्वाचन कार्यालयले ३२ वटा नयाँ केन्द्र थप गरेसँगै जिल्लाभर पाँच सय ८७ मतदान केन्द्र कायम गरेको हो ।
जिल्ला निर्वाचन अधिकारी नवीन चौधरीका अनुसार जिल्लामा तीन सय पाँच वटा मतदानस्थल निर्धारण गरिएका छन् । मतदाताको चाप र सहज मतदान सुनिश्चित गर्न यसअघि रहेका पाँच सय ५५ केन्द्रमा थप गरी संख्या विस्तार गरिएको हो ।
चार निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं १ मा ८६ मतदानस्थल र एक सय ६१ मतदान केन्द्र रहेको छ । यस क्षेत्रमा एक लाख २३ हजार ९८५ मतदाता सूचीकृत छन् ।
यसैगरी क्षेत्र नं २ मा ८२ मतदानस्थल र एक सय ४५ मतदान केन्द्रबाट एक लाख १३ हजार आठ सय ३९ मतदाताले मतदान गर्नेछन् ।
यसैगरी निर्वाचन क्षेत्र नं ३ मा ७६ मतदानस्थल र एक सय ४४ मतदान केन्द्र तोकिएका छन् । उक्त क्षेत्रमा एक लाख १३ हजार पाँच सय २१ मतदाता रहेका छन् ।
यसैगरी निर्वाचन क्षेत्र नं ४ मा ६१ मतदानस्थल र एक सय ३७ मतदान केन्द्र कायम गरिएको छ । यस क्षेत्रमा एक लाख १४ हजार चार सय ३९ मतदाता रहेका छन् ।
निर्वाचन कार्यालयका अनुसार जिल्लाभर कुल चार लाख ६५ हजार सात सय ८४ मतदाताले प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्नेछन् ।





