२५औँ स्थापना दिवसमा सशस्त्र प्रहरीद्वारा विपन्न बालबालिकालाई न्यानो कपडा वितरण

सिमराः सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हेडक्वाटर बाराले २५औँ सशस्त्र प्रहरी दिवसको अवसरमा आइतबार विपन्न बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ।
बाराको पचरौता नगरपालिका १ हरपुरस्थित मुसहर बस्तीमा रहेको श्री दलित प्राथमिक विद्यालयमा अध्ययनरत विपन्न वर्ग तथा समुदायका एक सय २४ जना बालबालिकालाई न्यानो कपडा वितरण गरिएको हो।
सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण हेडक्वाटर बाराका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर केसीले स्थापना दिवसको अवसर पारेर बालबालिकालाई न्यानो कपडा वितरण गर्नुका साथै खाना खुवाइएको जानकारी दिए। उनका अनुसार विद्यालय भवनको रङरोगनसमेत गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि तथा पचरौता नगरपालिकाका नगर प्रमुख जलन्धर सिंह जैसवारले सशस्त्र प्रहरीले आफ्नो स्थापना दिवसमा समाजसेवामूलक कार्य गरेर उदाहरणीय काम गरेको बताए। उनले विद्यालयको सुरक्षाका लागि अगाडि पर्खाल निर्माण गरिएको जानकारी दिँदै आगामी आर्थिक वर्ष २०८३/०८४ मा उक्त विद्यालयमा चार कोठे भवन निर्माण गरिने प्रतिबद्धता जनाए।
नगर प्रमुख जैसवारले दलित बस्तीका सडकहरू छिट्टै ढलान गरिने बताउँदै सो वडामा स्वास्थ्य, शिक्षा, सडक, कृषि लगायतका क्षेत्रमा करिब ८ करोड रुपैयाँ बराबरको विकास कार्य भइरहेको जानकारी दिए।
दलित प्राथमिक विद्यालय हरपुरका प्रधानाध्यापक बजरंगी माझीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष विनय कुमार सिंह, इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक कृष्णदेव साह, शिक्षक, स्थानीय बासिन्दा, अभिभावक तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन सशस्त्र प्रहरी नायब निरीक्षक विक्रम पौडेलले गरेका थिए।
यसै अवसरमा सशस्त्र प्रहरी बल नं. १२ गणले बारा जिल्लाको कलैया उपमहानगरपालिका १६ स्थित श्री जोगिन्दर सामुदायिक आधारभूत विद्यालयमा भलिबल, फुटबललगायतका खेलकुद सामग्रीसमेत वितरण गरेको एसपी केसीले जानकारी दिए।





