सिरहामा सशस्त्र प्रहरीद्वारा १० लाखभन्दा बढी नगदसहित एक जना पक्राउ


eShilalekh

२७ पुष २०८२, आईतवार २०:०५

सिरहाः सिरहामा सशस्त्र प्रहरीले आइतबार बिहान स्रोत नखुलेको १० लाखभन्दा बढी नगदसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भगवानपुर गाउँपालिका ३ मरिकटोलका २४ वर्षीय देवनाथ यादव रहेका छन् ।

सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म मुख्यालय इनर्वा सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलीले भगवानपुर गाउँपालिका ४ ठाडीस्थित दशगजा क्षेत्रमा मुख्य सीमा स्तम्भ नम्बर २४६ नजिक भारतबाट नेपालतर्फ आउँदै गरेका यादवलाई रोकेर खानतलासी गरेको थियो ।

खानतलासीका क्रममा यादवको साथबाट स्रोत नखुलेको नेपाली रुपैयाँ १० लाख तीन हजार ९ सय ९० नगद बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

साथै उनले प्रयोग गरेको एक थान मोटरसाइकल र एक थान मोबाइल फोनसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

बरामद नगद रकमसहित पक्राउ परेका यादवलाई आवश्यक कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्