पर्सामा लागूऔषध गाँजासहित एक जना पक्राउ

सिमराः पर्सा प्रहरीले प्रतिबन्धित लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका २८ बगहीका ४५ वर्षीय राम सुरेश सहनी रहेका छन् ।
प्रहरी चौकी गण्डक पर्साबाट खटिएको प्रहरी टोलिले वीरगन्ज महानगरपालिका १४ गण्डक चोक स्थित सडकखण्डमा सवारीसाधन तथा पैदल यात्रुहरुलाई रोकेर जाँच गरेको थियो ।
जाँचका क्रममा साईकलमा सवार सहनीले कम्मरभन्दा माथि शरीरमा आकासे रंगको प्लाष्टिक भित्र कालो धागोले सिलाइ गरी सेतो टेपले बेरी लुकाइएको अवस्थामा करिब चार किलो ५० ग्राम लागुऔषध गाँजा फेला परेको पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए ।
बरामद लागूऔषधसहित पक्राउ परेका सहनीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।





