बारामा लामो समयदेखि फरार तीन प्रतिवादी पक्राउ

सिमरा: जिल्ला प्रहरी कार्यालय बाराले लामो समयदेखि फरार रहेका तीन जना प्रतिवादीलाई पक्राउ गरेको छ।
अदालतबाट फैसला भइसकेका तथा विभिन्न मुद्दामा वारदातपछि फरार रहेका व्यक्तिहरूको खोजतलासका क्रममा उनीहरू पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा बैकिङ कसुर मुद्दामा एक करोड रुपैयाँ विगो तोकिएका सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका २ का ४० वर्षीय श्री तामाङ रहेका छन्। उनलाई इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
यसैगरी लागूऔषध सम्बन्धी मुद्दामा जीतपुरसिमरा उपमहानगरपालिका १६ का २७ वर्षीय उमेश भोलन पनि पक्राउ परेका छन्। उनी मुद्दा दर्ता भएदेखि नै फरार रहँदै आएका थिए।
यसैगरी लेनदेन (विगो) सम्बन्धी मुद्दामा बारागढी गाउँपालिका ६ की ६५ वर्षीया हलिया थरुनी पनि पक्राउ परेकी छन्। उनलाई इलाका प्रहरी कार्यालय बारागढीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बारा मातहतका विभिन्न प्रहरी इकाइबाट खटिएको टोलीले अदालतबाट दण्ड सजाय तोकिएपछि फरार रहेका प्रतिवादीहरूलाई लुकिछिपि बसेको अवस्थामा पक्राउ गरेको हो।
पक्राउ परेकाहरूमाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।





