नेपाल पत्रकार महासंघ पर्साद्वारा चार पत्रकारलाई विभिन्न पुरस्कार प्रदान गर्ने निर्णय


eShilalekh

३० पुष २०८२, बुधबार १५:०९

वीरगन्जः नेपाल पत्रकार महासंघ पर्साले स्वर्गीय गोपाल गिरी पत्रकारिता पुरस्कार २०८२ पत्रकार गोविन्द देवकोटालाई प्रदान गर्ने निर्णय गरेको छ ।

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालको अध्यक्षतामा मंगलबार बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो । ५१ हजार रुपैयाँ राशिको सो पुरस्कार माघ १ गते विशेष समारोहका बीच प्रदान गरिने महासंघले जनाएको छ ।

यसैगरी महासंघले स्वर्गीय सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार २०८२ वीरगन्जका पत्रकार ईश्वरचन्द्र गौतमलाई प्रदान गर्ने निर्णय गरिएको छ । स्व. पाण्डेको स्मृतिमा स्थापना गरिएको उक्त पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ ।

यसैगरी स्व. नरेश सर्राफ क्रियाशील पत्रकारिता पुरस्कार वीरगन्जकी दुई महिला पत्रकारलाई प्रदान गरिने भएको छ । पत्रकार माधुरी महतोलाई स्व. नरेश सर्राफ क्रियाशील पत्रकारिता पुरस्कार २०८१ प्रदान गरिने छ भने पत्रकार विमला गुप्तालाई सोही पुरस्कार २०८२ प्रदान गरिने छ ।

महासंघले स्व. सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार तथा स्व. नरेश सर्राफ क्रियाशील पत्रकारिता पुरस्कार माघ महिनाभित्रै वितरण गरिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्