मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठी: शान्ति र सुरक्षा प्रभावकारी बनाउने लक्ष्य


eShilalekh

१ माघ २०८२, बिहीबार १७:५३

जनकपुर: मधेश प्रदेशका जिल्लाहरूमा शान्ति र सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउने उद्देश्यले जनकपुरमा एकदिवसीय मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएको छ। गोष्ठी नेपाल सरकारको गृह मन्त्रालय र मधेश सरकारको गृह सञ्चार तथा कानुन मन्त्रालयद्वारा संयुक्त रूपमा आयोजना गरिएको थियो।

गोष्ठीमा गृहमन्त्री ओमप्रकाश अर्यालले समाजमा शान्ति तथा सुव्यवस्था कायम गर्नु वर्तमान सरकारको प्राथमिकता भएको बताउँदै प्रदेशका जिल्लाहरूमा सुरक्षा चुनौती पहिचान गरी समाधानका उपाय खोज्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए । उनले अपराध नियन्त्रणमा सरकार कटिबद्ध रहेको उल्लेख गर्दै नागरिकसँगको समन्वय र सहकार्यमा जनसमुदायमा प्रभावकारी सेवा प्रवाह गर्नुपर्नेमादिए । आसन्न निर्वाचन तोकिएको समयमा सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको पनि उनले बताए ।

गोष्ठीमा मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादव, गृह सञ्चार तथा कानुन मन्त्री फकिरा महतो, र कायम मुकायम प्रमुख सचिव कमलप्रसाद भट्टराईले भनाई राखेका थिए ।

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सिमाना, लागूऔषध ओसारपसार, सडक दुर्घटना लगायतका अपराध नियन्त्रणका लागि अन्य सरोकारवालासँग समन्वय आवश्यक रहेकोमा जोड दिए । कार्कीले गोष्ठीमार्फत प्राप्त मार्गनिर्देशनको सदुपयोग गरी प्रदेशमा सुरक्षा व्यवस्था मजबुत पार्न र निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए ।

नेपाली सेनाका रथी प्रदीपजंग केसी, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान निर्देशक टेकेन्द्र कार्कीले पनि गोष्ठीको महत्वबारे आफ्नो दृष्टिकोण व्यक्त गरेका थिए ।

गृह मन्त्रालय शान्ति सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख आनन्द काफ्लेले प्रदेशको सुरक्षा अवस्था र चुनौतीसम्बन्धी प्रस्तुतीकरण गरेका थिए भने गृह मन्त्रालयका सहसचिव ऋषिराम तिवारीले गोष्ठीको उद्देश्यबारे प्रकाश पारेका थिए ।

गृह सचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न गोष्ठीमा मधेश प्रदेशका आठ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आ-आफ्नो जिल्लाको शान्ति सुरक्षा अवस्था, समस्या, चुनौती र समाधानका उपायबारे प्रस्तुतीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्