पथलैया-निजगढ सडकखण्डमा गुडिरहेको इभी माइक्रोबसमा आगलागी, यात्रु सकुशल


eShilalekh

३ माघ २०८२, शनिबार १२:२७

सिमरा: पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको पथलैया–निजगढ सडकखण्डमा शनिबार बिहान गुडिरहेको इभी माइक्रोबसमा आगलागी भएको छ । आगलागीबाट माइक्रोबस पूर्णरूपमा जले पनि यात्रुहरू भने सकुशल छन् ।

पोखराबाट काकरभिट्टातर्फ जाँदै गरेको नेपाल यातायात प्रालिको प्र.१–०१–००१ख ४७२० नम्बरको फोटोन कम्पनीको माइक्रोबसमा बिहान करिब ३:३० बजे आगो लागेको हो । घटना जीतपुरसिमरा उपमहानगरपालिका १६ स्थित सहजनाथ मन्दिर जाने बाटो अगाडि भएको हो ।

माइक्रोबसमा १४ जना यात्रु सवार थिए । अचानक आगो सल्किएको देखिएपछि चालकले गाडी सडक छेउमा रोकेर सबै यात्रुलाई सुरक्षित रूपमा बाहिर निकालेका थिए । आगलागीबाट माइक्रोबस पूर्ण रूपमा जलेको भए पनि यात्रु र उनीहरूका सामान सुरक्षित छन् ।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले राजमार्गमा अलपत्र परेका यात्रुलाई अर्को सवारीसाधनको व्यवस्था गरी गन्तव्यतर्फ पठाएको थियो ।

माइक्रोबसमा विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्