अघिल्लो निर्वाचन जितेकालाई निरन्तरता दिँदै एमालेले बारामा छान्यो उम्मेदवार


eShilalekh

४ माघ २०८२, आईतवार १३:२०

सिमराः २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित तीन सांसदलाई निरन्तरता दिँदै नेकपा एमालेले बारामा उम्मेदवार चयन गरेको छ । एमालेले बारा क्षेत्र नं. १ मा अच्युत मैनाली, क्षेत्र नं. २ मा बलबीर चौधरी, क्षेत्र नं. ३ मा ज्वालाकुमारी साह र क्षेत्र नं. ४ मा कृष्णकुमार श्रेष्ठ (किसान) लाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

मैनाली, साह र श्रेष्ठ २०७९ सालको निर्वाचनमा निर्वाचित सांसद हुन् । श्रेष्ठ तत्कालिन नेकपा एकीकृत समाजवादीबाट निर्वाचित भएका थिए । उनि अहिले एमालेमा प्रवेश गरिसकेका छन् । श्रेष्ठ पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री हुन् भने साह पूर्व कृषी तथा पशुपंक्षी मन्त्री हुन् ।

२०७९ सालको निर्वाचनमा बारा क्षेत्र नं. १ बाट मैनालीले ३९ हजार एक सय ९५ मत पाएका थिए । मैनालीले नेपाली कांग्रेसका उमाकान्त चौधरीसंग ९ हजार एक सय ३९ मतको मतान्तरले पराजित गरेका थिए । लोकप्रिय मतसहित निर्वाचित मैनालीलाई एमालेले पुनः उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यसैगरी क्षेत्र नं. ३ बाट निर्वाचित पूर्वमन्त्री साहले २० हजार दुई सय ५१ मत प्राप्त गरेकी थिईन् । एमालेले त्यसबेला बाराको अन्य निर्वाचन क्षेत्रमा जसपा नेपालसंग तालमेल गरेको भएपनि साहको क्षेत्रमा भने एक्लाएक्लै प्रतिस्पर्धा भएको थियो । साहले जसपा नेपालकै रामबाबुकुमार यादवलाई दुई हजार ९ सय ७२ मतको मतान्तरले जितेकी थिईन् ।

यता बारा क्षेत्र नं. ४ मा तत्कालिन नेकपा एकीकृत समाजवादीका उम्मेदवार श्रेष्ठ १० हजार भन्दा बढी मतको मतान्तरले बिजयी भएका थिए । सात दलीय गठबन्धनबाट उम्मेदवार बनेका श्रेष्ठले नेकपा एमालेका एकबाल मियाँलाई पराजित गरेका थिए । उक्त निर्वाचनमा श्रेष्ठले ३० हजार तीन सय ४१ मत प्राप्त गर्दा मियाँले २० हजार तीन सय ३६ मत पाएका थिए ।

बारा क्षेत्र नंं. २ मा भने एमालेले केन्द्रीय सदस्य बलबीर चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । चौधरी २०७० सालको संविधानसभा निर्वाचनमा बारा क्षेत्र नं. ५ बाट निर्वाचित भएका थिए । त्यसबेला बारा ६ वटा क्षेत्रमा विभाजित थियो ।
२०७९ सालको निर्वाचनमा बारा क्षेत्र नं. २ मा एमालेले जसपा नेपालका उम्मेदवार रामसहाय यादवलाई सहयोग गरेको थियो । यादव १३ हजार आठ सय २२ मत प्राप्त गर्दै निर्वाचित भएका थिए । यादव अहिले उपराष्ट्रपति छन् ।

उनि उपराष्ट्रपतिमा निर्वाचित भएसंगै २०८० सालमा उपनिर्वाचन भएको थियो । उपनिर्वाचनमा सप्तरी २ बाट पराजित जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव बारा २ बाट चुनाव लडेका थिए । उक्त निर्वाचनमा यादव २८ हजार चार सय १८ मत प्राप्त गर्दै बिजयी भएका थिए ।

पछिल्लो दुई निर्वाचनमा उक्त क्षेत्रमा उम्मेदवार खडा नगरेको एमालेले यसपटक चौधरीलाई अघि सारेको हो ।

प्रतिक्रिया दिनुहोस्