यी हुन् बाराको चार क्षेत्रको निर्वाचन कार्यालय

सिमराः बारामा चार वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना भईसकेको छ । बारा क्षेत्र नं. १ को कोल्हबीमा, क्षेत्र नं. २ को बरियारपुरमा, क्षेत्र नं. ३ को कलैयामा र क्षेत्र नं. ४ को जीतपुरमा कार्यालय स्थापना गरिएको हो ।
क्षेत्र नं. १ को निर्वाचन कार्यालय कोल्हबी नगरपालिकामा राखिएको छ । क्षेत्र नं. २ को कार्यालय महागढीमाई नगरपालिकाको कार्यालयमा राखिएको छ भने क्षेत्र नं. ३ को कार्यालय जिल्ला समन्वय समितिको कार्यालयमा राखिएको छ ।
यता क्षेत्र नं. ४ को कार्यालय जीतपुरसिमरा ७ स्थित राष्ट्रिय उखु अनुसन्धान केन्द्रमा स्थापना गरिएको छ । निर्धारित निर्वाचन तालिकाअनुसार माघ ६ गते यी निर्वाचन कार्यालय पुगेर उम्मेदवारले मनोनयन दर्ता गर्नेछन् ।
निर्वाचन आयोगले चार वटै निर्वाचन क्षेत्रका लागि अधिकृत तोकिसकेको छ । बारा १ जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिकवक्ता शम्भुकुमार बस्नेत, क्षेत्र नं. २ मा सर्वोच्च अदालतका उपरजिष्ट्रार किरणकुमार सिंह, क्षेत्र नं. ३ मा जिल्ला अदालतका न्यायाधीश प्रकाशकुमार अधिकारी अधिकृत नियुक्त भएका छन् । अधिकारीलाई चार वटै क्षेत्रको मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी समेत दिइएको छ । क्षेत्र नं. ४ मा सर्वोच्च अदालतका इजलास अधिकृत गम्भीर घिमिरे नियुक्त भएका छन् ।





