बारा क्षेत्र नं. ४ बाट कृष्णकुमार श्रेष्ठ ‘किसान’ को उम्मेदवारी दर्ता

सिमराः नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ ले बारा निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उनले मंगलबार जितपुरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन पत्र दर्ता गराएका हुन्। उम्मेदवारी दर्ताका क्रममा उनी ठूलो संख्यामा समर्थक, बाजागाजा तथा र्यालीसहित तामझामका साथ कार्यालय पुगेका थिए।
बारा ४ का निर्वतमान संघीय सांसदसमेत रहेका श्रेष्ठले मनोनयन दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै यसपटक पनि आफ्नो जित सुनिश्चित रहेको दाबी गरे।
उनले यस क्षेत्रको विकासमा आफूले सुरु गरेका तर अधुरा रहेका काम पूरा गर्नका लागि जनताले पुनः आफूलाई नै विजयी गराउने विश्वास व्यक्त गरे।
यसअघि नेकपा (एकीकृत समाजवादी) बाट चुनाव जितेका श्रेष्ठ केही समयअघि मात्रै नेकपा (एमाले) मा फर्किएका हुन्।





