बारा क्षेत्र नं. १ बाट अच्युत प्रसाद मैनालीको पुनः उम्मेदवारी दर्ता


eShilalekh

६ माघ २०८२, मंगलवार १४:४५

सिमरा: नेकपा (एमाले) का नेता अच्युत प्रसाद मैनालीले बारा निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका लागि पुनः उम्मेदवारी दर्ता गराएका छन्।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उनले मंगलबार जितपुरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन पत्र दर्ता गराएका हुन्।

मैनालीले २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा आफूलाई प्राप्त सहयोग, विश्वास र समर्थनका लागि मतदाताप्रति हार्दिक आभार व्यक्त गर्दै यसपटकको निर्वाचनमा पुनः जनसमर्थनको अपिल गरेका छन्।

देशको अखण्डता, सार्वभौमसत्ता, सुशासन, समृद्धि तथा निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि विगतमा झैं यसपटक पनि जनताको माया, आत्मीय सहयोग र सुवेच्छाको अपेक्षा गर्दै आफू घरदैलोमा आएको उनले बताएका छन्।

बारा १ बाट पुनः उम्मेदवारी दिएका मैनालीले जनताको विश्वास र सक्रिय सहभागितामार्फत राष्ट्र निर्माणको यात्रालाई थप सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्