सिरहामा बालिका हत्या गरी फरार प्रतिवादी १९ वर्षपछि पक्राउ


eShilalekh

६ माघ २०८२, मंगलवार १५:५५

सिरहाः सिरहा प्रहरीले १९ वर्षअघि एक १६ वर्षीया किशोरीको घाँटी थिची हत्या गरी फरार रहेका अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका १२ का ४९ वर्षीय उतिम मुखिया रहेका छन् ।

वि.सं.२०६३ सालमा भएको उक्त जघन्य हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मुखियालाई आफ्नै घरबाट लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार २०६३ साल मंसिर १३ गते तत्कालीन बेलहा गाउँ विकास समिति ७ की एक किशोरी मृत अवस्थामा फेला परेकी थिइन् । प्रारम्भिक अनुसन्धानपछि घटनामा उतिम मुखियाको संलग्नता रहेको खुलेको थियो ।

प्रहरी अनुसन्धानका क्रममा मुखियाले ती किशोरीलाई प्रेम प्रस्ताव राखेको र प्रस्ताव अस्वीकार भएपछि आक्रोशमा सल र हातले घाँटी थिची हत्या गरेको तथ्य खुलेको प्रहरीले जनाएको छ ।

घटनापछि पक्राउ पर्ने डरले मुखिया लामो समयदेखि भारतका विभिन्न सहरहरूमा लुकीछिपी बस्दै आएका थिए । हालै मात्र उनी आफ्नै घर फर्किएर लुकेर बसेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले माघ ३ गते उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका मुखियामाथि सिरहा जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्