रौतहटमा प्रतिबन्धित लागूऔषधसहित एक महिला पक्राउ


eShilalekh

७ माघ २०८२, बुधबार १४:४४

रौतहटः रौतहट प्रहरीले प्रतिबन्धित लागूऔषधसहित एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा यमुनामाई गाउँपालिका ३ की ३१ वर्षीया नइमा खातुन रहेकी छन् ।

लागूऔषध कारोबारमा संलग्न रहेको विशेष सूचनाका आधारमा प्रहरीले खातुनको घरमा खानतलासी गरेको थियो ।

खानतलासीका क्रममा कार्टुनभित्र लुकाई छिपाई राखिएको अवस्थामा ठूलो परिमाणमा प्रतिबन्धित नशालु इन्जेक्सन फेला परेको रौतहटका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक बिष्णु प्रदीप बस्यालले जानकारी दिए ।

प्रहरीले नुर्फिन पाँच सय एम्पुल, फेनारागन पाँच सय एम्पुल र डाइजेपाम पाँच सय एम्पुल गरी जम्मा एक हजार पाँच सय नशालु इन्जेक्सन बरामद गरेको हो ।

साथै नेपाली रुपैयाँ एक हजार दरका चार थान, भारतीय रुपैयाँ दुई सय का दुई थान र एक सय का ३५ थान, नइमा खातुनको नाममा जारी भारतीय आधार कार्ड एक थान, बिआर–३० एएच–९७८६ नम्बरको हिरो कम्पनीको स्कुटीको भारतीय सवारी दर्ता प्रमाणपत्र एक थान तथा एक थान मोबाइल समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

बरामद सामानसहित पक्राउ गरिएको खातुनलाई लागूऔषध सम्बन्धी कसुर मुद्दामा रौतहट जिल्ला अदालतबाट म्याद अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्