रौतहटमा भारतीय नम्बर प्लेटका तीन शंकास्पद सवारीसाधन नियन्त्रणमा

रौतहट: जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा सवारी साधन चेकजाँच गर्ने क्रममा भारतीय नम्बर प्लेटका तीन शंकास्पद सवारीसाधन नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार आवश्यक कागजात नपुगेको पाइएपछि ती सवारीसाधनलाई नियन्त्रणमा लिई थप कारबाहीका लागि गौर भन्सार कार्यालय बुझाइएको हो।
नियन्त्रणमा लिइएका सवारीसाधनमध्ये डीएल ४ सी एनबी ४३३५ नम्बरको स्कार्पियो, विआर ०६ सी एल ६५४० नम्बरको मारुती सुजुकी र डीएल ८ सी ए सी ३०३२ नम्बरको स्पोर्ट्स कार रहेका छन्।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विष्णु प्रदीप बस्यालका अनुसार आवश्यक अनुसन्धान पूरा गरी मंगलबार ती सवारीसाधन गौर भन्सार कार्यालयमा बुझाइएको छ। प्रहरीले सीमा क्षेत्रबाट अवैध रूपमा सञ्चालन हुने सवारीसाधनमाथि निगरानी कडा पारिएको जनाएको छ।





