पर्सा प्रतिनिधिसभा निर्वाचनः चार क्षेत्रमा एक सय ९ उम्मेदवार

वीरगन्जः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पर्सामा उम्मेदवारी दर्ता सम्पन्न भएको छ । जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा कुल एक सय ९ जनाले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
मुख्य निर्वाचन कार्यालय पर्साका प्रवक्ता यादवप्रसाद जोशीका अनुसार निर्वाचन क्षेत्र नम्बर १ मा ३०, क्षेत्र नम्बर २ मा ३२, क्षेत्र नम्बर ३ मा २३ र क्षेत्र नम्बर ४ मा २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
चारवटै क्षेत्रमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), उज्यालो नेपाल, श्रम संस्कृति पार्टीलगायत विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरूको बाक्लो उपस्थिति देखिएको छ ।
क्षेत्र नम्बर १ मा ३० जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रमुख उम्मेदवारहरूमा नेपाली कांग्रेसबाट अनिलकुमार रुंग्टा, नेकपा एमालेबाट प्रदीप यादव, जसपा नेपालबाट रामनरेश यादव, रास्वपाबाट हरि पन्त, जनमत पार्टीबाट ओमप्रकाश सर्राफ र नेकपाबाट अजय चौरसिया रहेका छन् ।
यसैगरी क्षेत्र नम्बर २ मा ३२ जनाको उम्मेदवारी परेको छ । यस क्षेत्रमा नेपाली कांग्रेसबाट पूर्वमन्त्री अजयकुमार चौरसिया, एमालेबाट रिमा यादव, जसपा नेपालबाट अशोक टेमानी, रास्वपाबाट सुशिल साह कानु, जनमत पार्टीबाट श्याम गुप्ता र नेकपाबाट मनोज चौधरी चुनावी मैदानमा छन् ।
यसैगरी क्षेत्र नम्बर ३ मा २३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन कार्यालयका अधिकृत बुद्धिलाल श्रेष्ठका अनुसार कांग्रेसबाट सुरेन्द्रप्रसाद चौधरी, एमालेबाट रूपेश पाण्डे, जसपा नेपालबाट कमोद निराला, नेकपाबाट छोटेलाल यादव, रास्वपाबाट रामाकान्त चौरसिया र जनमत पार्टीबाट माल्ती कुशवाहा प्रमुख उम्मेदवार हुन् ।
र क्षेत्र नम्बर ४ मा २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यस क्षेत्रमा नेपाली कांग्रेसबाट पूर्वमन्त्री रमेश रिजाल, एमालेबाट जालिम मियाँ अन्सारी, रास्वपाबाट टेकबहादुर शाक्य, जसपा नेपालबाट कृपासिन्धु चौधरी र जनमत पार्टीबाट सिमादेवी कलवार चुनावी प्रतिस्पर्धामा छन् ।





