निजगढमा कांग्रेस वडा उपसभापति एमालेमा प्रवेश

निजगढ: नेपाली काङ्ग्रेस निजगढ नगरपालिका वडा नं. २ का उपसभापति तथा सुख शितल सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष पुरुषोत्तम खुलाल नेपाली काङ्ग्रेस परित्याग गरी बुधबार नेकपा एमालेमा प्रवेश गरेका छन्।
खुलाललाई नेकपा एमाले बारा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अच्युत मैनाली, एमालेका नेता एवम् पूर्वमन्त्री पुरुषोत्तम पौडेललगायतका नेताहरूले स्वागत गरेका थिए ।
स्वागत कार्यक्रममा एमाले निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी, एमाले नेता एकबहादुर श्रेष्ठ, निजगढ नगर कमिटी अध्यक्ष तिलक घलानलगायतका नेताहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै नेताहरूले खुलालको प्रवेशले निजगढ क्षेत्रमा एमालेको संगठन थप सुदृढ हुने विश्वास व्यक्त गरे। खुलालले पनि एमालेको नीति, सिद्धान्त र नेतृत्वबाट प्रभावित भएर पार्टी प्रवेश गरेको बताए।
मैनाली आगामी फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा बारा क्षेत्र नं. १ बाट उम्मेदवार बनेका छन्। उनी २०७९ सालको निर्वाचनमा समेत लोकप्रिय मतसहित निर्वाचित भएका थिए।





