सर्लाहीमा लागूऔषध गाँजासहित दुई जना पक्राउ


eShilalekh

८ माघ २०८२, बिहीबार १७:५२

सर्लाहीः सर्लाही प्रहरीले सात किलोभन्दा बढी लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कौडेना गाउँपालिका १ का १९ वर्षीय निलेश मण्डल र चक्रघट्टा गाउँपालिका ३ का ३२ वर्षीय शेष मोफिज रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलिले मलङ्गवा नगरपालिका ७ स्थित गणेसिया चोकमा सवारी जाँचका क्रममा सुखचैनाबाट शिवसागर चोकतर्फ जाँदै गरेको बीआर ०६ एबी २७२९ नम्बरको मोटरसाइकल रोकेर जाँच गरेको थियो ।

जाँचका क्रममा उक्त मोटरसाइकलको सिटमुनि रातो रंगको प्लास्टिकमा लुकाईछिपाई राखेको अवस्थामा सात किलो आठ सय ग्राम लागूऔषध गाँजा बरामद भएको सर्लाहीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।

गाँजासहित मोटरसाइकल र दुवै जनालाई नियन्त्रणमा लिई उनीहरूविरुद्ध अवैध लागुऔषध मुद्दामा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्