सशस्त्र प्रहरीद्वारा रौतहटमा नक्कली भारतीय नोटसहित दुई पक्राउ


eShilalekh

१४ माघ २०८२, बुधबार १३:२३

रौतहटः सशस्त्र प्रहरीले रौतहटमा नक्कली भारतीय नोटसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य अन्तर्गत सितामढी जिल्ला पर्सौनीका ४२ वर्षीय राकेश कुमार साह र सितामढीको शिवहर नगर परिषद ४ का ३० वर्षीय विक्रम कुमार पासवान रहेका छन्।

गौर नगरपालिका २ महादेवपट्टीस्थित सीमा क्षेत्रमा खटिएको सशस्त्र प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर–३० एएफ–५७३१ नम्बरको मोटरसाइकल रोकी जाँच गरेको थियो।

जाँचका क्रममा पाँच सय दरको एक थान र दुई सय दरका दस थान गरी जम्मा दुई हजार पाँच सय रुपैयाँ बराबरका नक्कली भारतीय नोट बरामद गरिएको नेपाल सीमा सुरक्षा गुल्म हेडक्वाटर गौरका सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेम सागर बिष्टले जानकारी दिए।

उनीहरूको साथबाट सक्कली भारतीय रुपैयाँ एक सय ७७, एक थान मोटरसाइकल तथा दुई थान एन्ड्रोइड मोबाइलसमेत बरामद गरिएको छ।

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्