ठोरीको भगवान नगरस्थित वृद्धाश्रममा उपकार सेवा नेपालद्वारा राहत वितरण

वीरगन्जः ठोरी गाउँपालिका १ भगवाननगरस्थित वृद्धाश्रममा आश्रित अपाङ्ग, सुस्त मानसिक अवस्था भएका, वृद्ध–वृद्धा तथा बालबालिकाहरूलाई लक्षित गर्दै उपकार सेवा नेपालले राहत सामग्री वितरण गरेको छ ।
आश्रममा रहेका १७ जना आश्रितका लागि संस्थाले दैनिक उपभोग्य सामग्री सहयोगस्वरूप प्रदान गरेको हो ।
संस्थाले ९० किलो चामल (तीन बोरा), १० किलो साबुन, १० किलो चिउरा, पाँच लिटर खाने तेल, पाँच किलो मसुर दाल, चार लिटर रिफाइन तेल, पाँच किलो नुनका साथै ट्राउजर, टी–सर्ट, फलफूल र मिठाई वितरण गरेको जनाएको छ ।
आश्रमका सदस्य राम बहादुर थिङको उपस्थितिमा उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगी, अभिभावक पद्मा देवी सरावगी तथा सामाजिक अभियन्ता प्रकाश थारुले राहत सामग्री हस्तान्तरण गरेका थिए ।
उपकार सेवा नेपालले उक्त वृद्धाश्रममा प्रत्येक महिनामा नियमित रूपमा सहयोग गर्दै आएको सामाजिक अभियन्ता प्रकाश थारुले जानकारी दिए ।





