सिरहामा कर्तव्य ज्यान मुद्दाका ११ वर्षदेखि फरार प्रतिवादी पक्राउ

सिरहा: सिरहा प्रहरीले कर्तव्य ज्यान मुद्दामा संलग्न भई विगत ११ वर्षदेखि फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा साविक औरही गाउँ विकास समिति ८ का ५६ वर्षीय मिठु साफी धोवी रहेका छन्।
वि.सं. २०७१ सालदेखि फरार रहेका साफीलाई प्रहरीले गत माघ १५ गते आफ्नै गाउँघरमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो।
घटनाको विवरण अनुसार वि.सं. २०७१ भदौ १९ गते बिहान स्थानीय ४५ वर्षीय डोमा सदाय आफ्नै घरमा मृत अवस्थामा फेला परेका थिए। उक्त घटनापछि मृतककी पत्नी अमोलिया देवी सदायले किटानी जाहेरी दर्ता गराएकी थिइन्।
अनुसन्धानका क्रममा घटना भएको रात साफी र सदायबीच मादक पदार्थ सेवनका क्रममा विवाद तथा झैँ–झगडा भएको तथ्य खुलेको प्रहरीले जनाएको छ।
पक्राउ परेका साफीलाई सिरहा जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखिएको सिरहाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रमेश बहादुर पालले जानकारी दिए।
घटनाबारे थप कानुनी अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।





