सीआईबीको नक्कली असई बनी ठगी गर्ने महिला पक्राउ


eShilalekh

२६ माघ २०८२, सोमबार १३:३६

रौतहटः नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को सहायक निरीक्षक (असई) भन्दै सर्वसाधारणलाई ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाहीको बरहथवा घर भई हाल कविलासी नगरपालिका बस्ने ३५ वर्षीया निर्मला महतो रहेकी छिन्। उनले नेहा, निशा र पुनम कुमारी जस्ता विभिन्न उपनामहरू प्रयोग गर्दै लामो समयदेखि ठगी धन्दा चलाउँदै आएको पाइएको छ ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार महतोले भन्सारका कर्मचारीसँग आफ्नो सेटिङ रहेको र सस्तोमा स्कारपियो गाडी मिलाइदिने प्रलोभन देखाएर विभिन्न व्यक्तिहरूलाई जालमा पार्ने गरेकी थिइन्।

अनुसन्धानका क्रममा उनले सर्लाहीका राजेश्वर साहकी श्रीमती पुनम कुमारीको नागरिकता र फोटो दुरुपयोग गरी आफ्नै नाममा राष्ट्रिय परिचयपत्र समेत बनाएको खुलेको छ ।

सोही कीर्ते परिचयपत्रका आधारमा माछापुच्छ्रे बैंकमा खाता खोली नक्कली हस्ताक्षर गरेर चेक दिने र मानिसहरूलाई ठग्ने गरेको प्रहरीको दाबी छ ।

महतोले चन्द्रपुरको एक ज्वेलर्सबाट दुई लाख ७४ हजार बराबरको सुनचाँदी उधारो लगेको, एक व्यक्तिबाट घरायसी समस्या देखाएर पाँच लाख सापटी लिएको र किराना पसल तथा गाडी भाडा बापत थप एक लाख २६ हजार रुपैयाँ ठगी गरेको खुलेको छ ।

आफू प्रहरी अधिकारी भएको विश्वास दिलाउन नक्कली परिचय दिने गरेकी उनलाई प्रहरीले गत माघ ४ गते चन्द्रपुरबाट नियन्त्रणमा लिएको थियो । पक्राउ परेपछि पनि लामो समयसम्म आफ्नो वास्तविक पहिचान लुकाउन सफल भएकी महतोको वास्तविकता विभिन्न कागजात र बैंक खाताको सुक्ष्म अनुसन्धानपछि मात्र खुलेको डीएसपी रुपा लाबुङले जानकारी दिइन् ।

हाल उनीमाथि ठगी, आपराधिक विश्वासघात र आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्