वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

वीरगन्ज: वीरगन्जको एक गोदाममा सोमबार छापा मार्न गएका सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
वीरगन्ज १४ आदर्शनगरस्थित एक गोदाममा वीरगन्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले छापा मार्ने क्रममा झडप भएको थियो। झडपका क्रममा तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् भने दुईवटा सवारीसाधनमा क्षति पुगेको छ।
पर्सा प्रहरीले सूचना जारी गर्दै चार जनालाई नियन्त्रणमा लिइएको जनाएको छ। घटनाको विस्तृत विवरण संकलनका लागि सिसी क्यामेरा फुटेजको अध्ययन भइरहेको र संलग्न व्यक्तिहरूको नाम अनुसन्धान पूरा भएपछि मात्र सार्वजनिक गरिने प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिएका छन्।
जाँचका क्रममा सशस्त्र प्रहरीले आदर्शनगरस्थित मदनप्रसाद गुप्ताको घरमा अवैध रूपमा गोदाम गरी राखिएको करिब १२ लाख ५० हजार रुपैयाँ बराबरको कपडा बरामद गरेको छ।
प्रहरीले भन्सार छली गरेर सामग्री भित्र्याइएको आशङ्का गरेको छ।





