बारामा आमाको नामबाट दुई जनाले पाए अङ्गीकृत नागरिकता

सिमरा: बारामा आमाको नामबाट दुई जनालाई अङ्गीकृत नेपाली नागरिकता प्रदान गरिएको छ।
कलैया उपमहानगरपालिका ५ का कान्ती देवी कुर्मीका छोरा सुरत राउत र कलैया उपमहानगरपालिका ४ का चन्द कुमारी क्षेत्रीका छोरा सागर सिंहले आमाको नामबाट अङ्गीकृत नेपाली नागरिकता प्राप्त गरेका छन्।
जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रका अनुसार नेपाल नागरिकता (दोस्रो संशोधन) ऐन, २०६३ तथा नेपाल नागरिकता नियमावली (चौथो संशोधन), २०६३ बमोजिम उनीहरूलाई आमाको नामबाट अङ्गीकृत नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको हो।
प्रमुख जिल्ला अधिकारी मिश्रले आमाको नामबाट नागरिकता प्रमाणपत्र वितरण गर्ने कार्य सुरु गरिएको जानकारी दिँदै यस प्रक्रियालाई निरन्तरता दिइने बताए।





