रौतहटमा अवैध सालको काठसहित टाटा सुमो र मोटरसाइकल बरामद

रौतहटः रौतहटमा सशस्त्र प्रहरी र बन सुरक्षा टोलीले बुधबार राति अवैध सालको काठ बोकेको टाटा सुमो र मोटरसाइकल बरामद गरेको छ ।
जंगलसहिया क्षेत्रमा अवैध साल काठ तस्करी भइरहेको अवस्थामा संयुक्त गस्ती टोलीले दुईथान सालको गोलिया काठसहित उक्त सवारीसाधन बरामद गरेको हो ।
जंगलसहिया सब–डिभिजन वन कार्यालयका प्रमुख विनोद जेठाराको नेतृत्वमा खटिएको टोलीले नियमित गस्तीका क्रममा जंगलसहिया साझेदारी वनअन्तर्गत बागमती नहर नजिक शंकास्पद गतिविधि देखेपछि जाँच गरेको थियो ।
जाँचका क्रममा भारतीय नम्बर प्लेटको सुमो गाडीमा लोड गरिएको साल काठ र ना ६७ प १०५१ नम्बर प्लेटको मोटरसाइकल बरामद गरिएको डिवीजन बन कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
टोली पुग्नासाथ काठ तस्करीमा संलग्न तस्करहरू सवारीसाधन छाडेर फरार भएको डिभिजन प्रमुख हेमन्त कुमार साहले बताएका छन् । बरामद गरिएको काठ, सुमो र मोटरसाइकल डिभिजन वन कार्यालय रौतहटमा राखिएको छ ।
काठको नाप जाँच तथा थप अनुसन्धान प्रक्रिया अघि बढाइएको र फरार तस्करहरूको खोजी कार्य जारी रहेको प्रमुख साहले जानकारी दिएका छन् ।





