सिरहामा टिपर सफा गर्ने क्रममा करेन्ट लागेर चालकको मृत्यु

सिरहाः सिरहाको गोलबजार नगरपालिका २ गुरुधाममा शुक्रबार बिहान करेन्ट लागेर टिपर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४३ वर्षीय सन्तोष साह रहेका छन् ।
प्रदेश २–०१–००१ क ००४५ नम्बरको टिपर सफा गर्ने क्रममा अचानक करेन्ट प्रवाह हुँदा साहको मृत्यु भएको हो । टिपरको हाइड्रोलिक भाग ढालामाथि उठाउँदा माथि रहेको ११ केभीको उच्च भोल्टेज विद्युत् लाइनमा छोएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय गोलबजारका अनुसार टिपर सफा गरेर पानी छ्याप्ने तयारी गरिरहेका बेला साहले टिपरको पछाडिको भाग उठाएका थिए । सोही क्रममा विद्युतको तारमा ढालाले छोएपछि टिपरमा करेन्ट सञ्चार भएको थियो ।
करेन्ट लागेर गम्भीर घाइते भएका साहलाई तत्काल उपचारका लागि गोलबजारस्थित लाइफलाइन अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले पुष्टि गरेको छ । विद्युत् सर्ट भएपछि टिपरको केही भागमा समेत आगलागी भई क्षति पुगेको छ ।
प्रहरी निरीक्षक सुदन केसीका अनुसार मृतकको शवलाई पोस्टमार्टमका लागि लहानस्थित प्रादेशिक अस्पताल पठाइएको छ ।






