देशभर प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न

सिमराः देशभर प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान बिहीबार शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।
निर्वाचन आयोगका अनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदान निर्धारित समय साँझ ५ बजे नै सकिए पनि मतदानस्थलको लाइनमा रहेका मतदाताहरूलाई भने मतदान प्रक्रियामा सहभागी गराइने आयोगका आयुक्त डा. जानकीकुमारी तुलाधरले जानकारी दिइन् ।
हालसम्म कुनै पनि केन्द्रमा मतदान औपचारिक रूपमा स्थगित भएको घोषणा गरिएको छैन । दोलखा, सर्लाही र रौतहटमा केही समय विवाद देखिए पनि समाधान भइसकेको छ भने दोलखाको तामाकोशी ४ स्थित मालु मतदानस्थलमा केही बेरको अवरोधपछि पुनः मतदान सुचारु भएको थियो ।
निर्वाचनको अन्तिम विवरण र मतदानको समग्र स्थितिबारे जानकारी दिन आयोगले आज साँझ ६ः१५ बजे पत्रकार सम्मेलनको आयोजना गरेको छ ।






