आजदेखि आधा सिलिन्डर ग्यास मात्रै बिक्री गरिँदै, प्रति सिलिन्डरको मूल्य ९५५ रुपैयाँ कायम

सिमराः नेपाल आयल निगमले खाना पकाउने एल.पी. ग्यासको आपूर्ति र वितरण प्रणालीलाई व्यवस्थित बनाउन आज (शुक्रबार) देखि आधा सिलिन्डर मात्रै ग्यास बिक्री वितरण गर्ने निर्णय कार्यान्वयनमा ल्याएको छ ।
निगमद्वारा जारी विज्ञप्ति अनुसार अब उपभोक्ताले प्रति सिलिन्डर ७.१ किलो ग्यास मात्र भर्न पाउनेछन् जसको मूल्य ९५५ रुपैयाँ तोकिएको छ ।
मध्यपूर्वमा जारी युद्धका कारण पेट्रोलियम पदार्थ र ग्यासको आपूर्तिमा विश्वव्यापी असर परिरहेको र छिमेकी मुलुक भारतमा समेत उपभोक्तालाई ग्यास प्राप्तिमा समस्या देखिएको खबर सार्वजनिक भएपछि नेपालमा पनि आवश्यकताभन्दा बढी ग्यास खरिद गरी भण्डारण गर्ने प्रवृत्ति बढेकाले निगमले यस्तो कदम चालेको हो ।
विगत दुई–तीन महिनादेखि काठमाडौँ उपत्यकामा ग्यासको माग उच्च देखिएको र उपभोक्ताले घरमा ग्यास थुपार्न थालेकाले बजारमा अभाव सृजना नहोस् भनी यो अल्पकालीन व्यवस्था गरिएको निगमले जनाएको छ ।
आधा सिलिन्डर मात्रै वितरण गर्दा उपलब्ध ग्यास धेरैभन्दा धेरै उपभोक्ताको पहुँचमा पुग्ने र अनावश्यक सञ्चय गर्ने कार्य निरुत्साहित हुने निगमको विश्वास छ ।
अर्को निर्णय नभएसम्मका लागि यो व्यवस्था लागू रहने र आम उपभोक्तालाई सोही अनुसार ग्यास खरिद गर्न निगमले अनुरोध समेत गरेको छ ।







