छात्रालाई अनैतिक दबाब दिएको आरोपमा मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ

वीरगन्जः मधेस विश्वविद्यालयमा कार्यरत एक कर्मचारीले छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको र धम्की दिएको आरोपमा पक्राउ परेका छन् । विश्वविद्यालयका कर्मचारी मोहम्मद राजु राउत गद्दीलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार गद्दीले सुरुमा सहयोग गर्ने बहानामा छात्रासँग नजिक हुने प्रयास गरेका थिए । पछि उनले फोन र सामाजिक सञ्जालमार्फत अनुपयुक्त सन्देशहरू पठाउँदै मानसिक तनाव दिन थालेको पीडितको आरोप छ ।
गद्दीले आफ्नो प्रस्ताव स्वीकार गरे विभिन्न शैक्षिक सुविधाहरू दिलाउने प्रलोभन देखाउने र अस्वीकार गरेमा परीक्षामा अङ्क घटाएर शैक्षिक भविष्य नै बिगारिदिने भन्दै निरन्तर धम्की दिँदै आएका थिए ।
पीडित छात्राले दिएको उजुरीका आधारमा गत चैत १४ गते जिल्ला प्रशासन कार्यालय पर्सामा मुद्दा दर्ता भएको थियो । उजुरी परेपछि फरार रहेका गद्दीलाई प्रहरीले खोजतलास गरी पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी हरि बहादुर बस्नेतका अनुसार आरोपितमाथि कानुनी प्रक्रिया अघि बढाइएको र घटनाको विस्तृत अनुसन्धान भइरहेको छ ।





