एसईईको पहिलो दिनः बारामा एक हजार सात सय ६४ परीक्षार्थी अनुपस्थित


eShilalekh

१९ चैत्र २०८२, बिहीबार १८:३३

सिमराः आजदेखि देशभर सुरु भएको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को पहिलो दिन बारामा एक हजार सात सय ६४ जना परीक्षार्थी अनुपस्थित भएका छन् ।

शिक्षा विकास तथा समन्वय इकाई बाराका अनुसार पहिलो दिनको अनिवार्य अङ्ग्रेजी विषयको परीक्षामा विभिन्न विधाका परीक्षार्थीहरू अनुपस्थित भएका हुन् ।

इकाईका निमित्त प्रमुख अशोक कुमार रौनियारले दिएको जानकारीअनुसार साधारणतर्फ नियमितका ९५ जना र ग्रेडवृद्धिका एक हजार ६ सय १३ जना अनुपस्थित भएका छन् । त्यसैगरी प्राविधिकतर्फ नियमितका चार जना र ग्रेडवृद्धिका ५२ जना गरी कुल एक हजार सात सय ६४ परीक्षार्थी परीक्षामा सहभागी भएका छैनन् ।

जिल्लाभरका एक सय २ सामुदायिक र ५३ संस्थागत विद्यालयका कुल १० हजार आठ सय १३ परीक्षार्थीहरूले आवेदन भरेकोमा पहिलो दिन ९ हजार ४९ जना मात्र परीक्षामा सहभागी भएको कार्यालयले जनाएको छ ।

बाराका ३० वटा परीक्षा केन्द्रमार्फत शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको यस वर्षको परीक्षा अन्तर्गत चैत २० गते (शुक्रबार) अनिवार्य नेपाली विषयको परीक्षा हुने तालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्