एसईई परीक्षामा मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ


eShilalekh

२० चैत्र २०८२, शुक्रबार १७:१७

सर्लाहीः सर्लाहीको गोडैता नगरपालिका ५ रामवनस्थित श्री जनता माध्यमिक विद्यालय परीक्षा केन्द्रमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को मर्यादा विपरीत कार्य गर्ने तीन जना परीक्षार्थी पक्राउ परेका छन् ।

शुक्रबार बिहान अनिवार्य नेपाली विषयको परीक्षा सञ्चालन भइरहेका बेला परीक्षा हलमै मोबाइल प्रयोग गरी प्रश्नपत्र बाहिर पठाउने र उत्तर प्राप्त गर्ने प्रयास गरिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ पर्नेमा बलरा नगरपालिका ८ स्थित श्री नमुना माध्यमिक विद्यालयका प्रितम यादव र आलोक यादव तथा गोडैता ५ स्थित श्री नारायण हरि माध्यमिक विद्यालयका सुमित यादव रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार परीक्षार्थीहरूले वाट्सएप ग्रुप बनाएर डिजिटल माध्यमबाट चिट आदान–प्रदान गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

केन्द्राध्यक्षले उनीहरूलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएपछि हाल इलाका प्रहरी कार्यालय बरहथवामा राखेर थप अनुसन्धान भइरहेको छ । परीक्षाको मर्यादा उल्लङ्घन गरेका कारण तीनै जनाको शुक्रबारको परीक्षा रद्द गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्