रौतहटको मौलापुरमा ग्यास सिलिन्डर विस्फोट हुँदा घर जलेर नष्ट, दुई लाखको क्षति

रौतहटः रौतहटको मौलापुर नगरपालिका ५ स्थित मछली बजार नजिक आइतबार राति ग्यास सिलिन्डर विस्फोट हुँदा भीषण आगलागी भएको छ ।
स्थानीय जगदीश साहको फुसले बनेको घरमा सिलिन्डर विस्फोट भएपछि सल्किएको आगोले घर पूर्ण रूपमा जलेर नष्ट भएको हो । प्रहरीका अनुसार उक्त आगलागीबाट घरभित्र रहेका लत्ताकपडा, अन्नपात (धान, गहुँ, चामल) लगायतका करिब दुई लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
विस्फोटको आवाज निकै ठूलो भएकाले केही समयका लागि मौलापुर बजार क्षेत्र त्रसित बनेको प्रत्यक्षदर्शीहरूले बताएका छन् । घटना लगतै इलाका प्रहरी कार्यालय मौलापुरको टोली र स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो । दुर्घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले पुष्टि गरेको छ ।
आगलागीबाट आफ्नो सर्वस्व गुमेपछि पीडित जगदीश साह दम्पती अहिले घरविहीन भएका छन् । हाल उनीहरूका लागि अस्थायी बसोबासको व्यवस्था मिलाइएको छ ।
प्रहरीले घटनाको विस्तृत कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ भने स्थानीयवासीले पीडित परिवारलाई तत्काल राहत र उचित क्षतिपूर्तिको व्यवस्था गरिदिन सम्बन्धित निकायसँग माग गरेका छन् ।





