महोत्तरीमा दुई मोटरसाइकल ठोक्किएर आगो लाग्दा तीन जनाको जलेर मृत्यु

सिमराः महोत्तरीको जलेश्वर–बर्दिबास सडकखण्डमा मंगलबार दिउँसो दुई मोटरसाइकल एकआपसमा ठोक्किएर आगो लाग्दा तीन जनाको जलेर मृत्यु भएको छ । घटनामा तीन जना घाइते भएका छन् ।
एकडारा गाउँपालिका ५ बखरी चोक नजिक दुई मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनालगत्तै दुबै मोटरसाइकल र घाइतेको शरिरमा आगो लागेको थियो ।
आगोमा जलेर तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । मृतक तीनै जना एसईई परीक्षा दिएर फर्कदै गरेको परिक्षार्थी भएको बताइएको छ ।
घटनास्थलबाट एसईईको प्रवेशपत्र समेत भेटिएको प्रहरीले जनाएको छ ।
घटनास्थलबाट तीन जनालाई उद्धार गरी अस्पताल लगिएको छ । मृतक र घाइतेको पहिचान खुल्न बाँकी छ ।





