जीतपुरसिमरामा अतिक्रमण गरी बनाइएका अवैध संरचना हटाउन उपमहानगरपालिकाको निर्देशन

जीतपुरः जीतपुरसिमरा उपमहानगरपालिकाले वडा नं. ७ मा सार्वजनिक तथा गोचर जग्गा अतिक्रमण गरी निर्माण गरिएका अवैध संरचना हटाउन निर्देशन जारी गरेको छ ।
उपमहानगरपालिकाको कार्यपालिका कार्यालयले मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै जीतपुरस्थित पथलैया–वीरगन्ज ६ लेन सडकखण्डको पूर्व–पश्चिम क्षेत्रमा पर्ने साविक जीतपुर भवानीपुर गाविस वडा नं. ३ का विभिन्न कित्तामा रहेका सार्वजनिक एवं गोचर जग्गामा बनाइएका अनाधिकृत संरचनाहरू तत्काल हटाउन निर्देशन दिएको हो ।
उपमहानगरपालिकाले आगामी २०८३ वैशाख २ गतेसम्मको समयसीमा दिँदै स्वेच्छाले संरचना हटाउन आग्रह गरेको छ । तोकिएको समयसीमाभित्र संरचना नहटाएमा वैशाख ३ गते बिहान ७ बजेदेखि उपमहानगरपालिकाले आफैँ डोजर चलाएर संरचना हटाउने चेतावनी दिएको छ ।
उपमहानगरपालिकाले संरचना हटाउँदा लाग्ने सम्पूर्ण खर्च ‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४’ को दफा ४५ (४) बमोजिम सम्बन्धित व्यक्ति वा पक्षबाटै असुलउपर गरिने स्पष्ट पारेको छ ।
प्रशासनिक अधिकृत रामेश्वर बनजाराद्वारा हस्ताक्षरित सो सूचनामार्फत उपमहानगरपालिकाले सार्वजनिक जग्गाको संरक्षण र व्यवस्थित उपयोगलाई प्राथमिकतामा राख्दै यस्तो कदम चालिएको जनाएको छ ।






